हाम्रो बारेमा

यो साइटमा तपाइले यस गाउँको इतिहास, यसको भौगोलिक बनावट,यहाँ बसोबास गर्ने विभिन्न जात-जातिहरू अनि अध्ययन र रोजगार व्यवसायको क्रममा हाल गाउँबाट बाहिर रहेका आप्रवासीहरूको यस गाउँलाई “नमुना गाउँ” बनाउने विभिन्न कार्यक्रमका सम्बन्धमा सञ्चालित एउटा संयुक्त अभियानको बारेमा जानकारी लिन सक्नु हुने छ।

भौगोलिक रूपमा मध्यपश्चिमाञ्चलको रुकुम जिल्लाको एक विकट स्थानमा अवस्थित गाउँ हो, झुम्लावाङ्ग । यस गाउँको आफ्नै गौरवमय इतिहास छ। तर समय क्रममा यस गाउँ पनि अधिकांश नेपालका गाउँ सरह विकासका हरेक पक्षबाट पिछडिएको छ। नेपालको परिप्रेक्षमा पनि सामान्य आधारभूत आवश्यकताबाट वञ्चित हामी यस गाउँका बासिन्दाहरू, हामीहरूको गाउँलाई ५ वर्ष भित्रै “नमुना गाउँ” बनाउन प्रतिबद्ध भएका छौ। यो एउटा अभियान हो। यो अभियान, यहाँ अहिले बसोबास गरिरहेका गाउँवासीहरु, प्रवासमा रहेका यस समाजका सदस्यहरू, र अपेक्षित यस अभियानका शुभ-चिन्तकहरू बीचको सहकार्य हो। हामीहरू विश्वस्त छौ कि यस अभियानलाई सफल बनाउन तपाइहरूले होस्टेमा हैँसे गर्नु हुनेछ।

हामीहरू सधैँ तपाइहरूको सहयोग, सल्लाह र सुझावको प्रतिक्षामा छौं । हामीहरूको गाउँलाई वेबसाइटमै भएपनि भेट्न आउनु भएकोमा तपाइलाई धेरै धेरै धन्यवाद । हामी आशान्वित छौं कि एक दिन हामीहरू तपाइलाई प्रत्यक्ष रूपमा गाउँमा नै स्वागत गर्न पाउने छौं । हामीहरूको अभियानको बारेमा बताउन मात्र होइन, हामीहरूले गरेका कामहरू प्रत्यक्ष रूपमा देखाउन पाउने छौं । त्यो दिन हामीहरूको लागि खुशीको दिन हुनेछ।

धन्यवाद !

एउटा ऐतिहासिक पहिचान भएको गाउँ :  

झुम्लावाङ्ग गाउँ एउटा पृथक पृष्ठभूमिबाट स्थापना भएको विविध जातजातीको एउटा साझा  थलो हो। यसको इतिहास गौरवमय छ, त्यसो भएको हुनाल सम्पूर्ण झूम्लावाङ्गबासीले यो ऐतिहासिक थलोलाई नयाँ शैलीबाट माथि उठाउनु जरुरी छ।

यस गाउँमा विक्रम सम्वत् १९६४ सालमा “रुकूमखानी रही टक्सार” स्थापना भई सम्पूर्ण जिल्लाहरुका करहरु अशुल तहसील गर्ने र पैसा कटाउने कार्य यसै स्थानबाट गरिरहेका थिए (बु.ब.इ. पेज १७)। सो टक्सारको उत्घाटन लेफ्टिनेन्ट वर्णासिङ क्षेत्रीले गरेको र सुरुमा लालु उपाध्यायले मुखियाको जिम्मेवारी लिएका थिए भनि इतिहास बोल्दछ। त्यसपछि लेफ्टिनेन्टहरु बदली भई आउने र टक्सारको मुखियाली यसै गाउँका विभिन्न समयका विभिन्न महानुभावहरुले गर्नु भएको बुझिन्छ।

खानी अत्यन्त राम्ररी संचालन भएकोले र आयआर्जन मनग्य भएको कुरापनी इतिहासमा उल्लेख पाइन्छ । त्यस बखत खाद्यान्न दाङ्ग, नेपालगन्ज र सल्यानबाट यस ठाउँमा व्यापारीहरुले ल्याउने गर्दथे भनी  किम्बदन्ति खोल्दछ। अन्ततः समयको बदलीको परिवेशसँगै यहाँका बासिन्दाहरु कृषि पेशामा समावेश हुँदै यस वर्तमान परिस्थितिसम्म आइपुग्दा एउटा बृहत समाजमा परिणत भएको छ । यो समाज अग्रगामी छ र विकासको चरणतिर प्रवेश गर्ने नयाँ मोडमा आइपुगेको छ । भविष्यमा यस गाउँ निरन्तर प्रगतिमुखी हुनेछ भनी आशा, विश्वास एवं भरोसा गर्न सकिने धेरै आधारहरु छन्।

भौगोलिकता

झुम्लावाङ्ग गाउँको भौगोलिक बनावट निकै ठूलो भागमा छरिएर रहेकोले यसको उचाइमा पनि विविधता छ। गाउँ समुद्री सतहदेखि २३२८ (७६३३ फिट) मिटरको उचाइमा रहे पनि खासिवाङ्ग, तुम्वाङ्ग, दाङलिगा, चौरिवाङ्ग, गोठवाङ्ग देखि चनवाङ्ग-गुरांसे सम्मको उचाइ १६०० मिटर देखि  १०० मिटर सम्म रहेको छ। यो गाऊँ चन्वाङ्ग धुरीको फेदीमा अवस्थित छ, जहाँबाट धवलागिरी हिमालय लगायतका उत्तरी हिमश्रृंखला नजिकैबाट नियाली रहेको जस्तोदेखिन्छ।

हरियो जंगल र विभिन्न मौसमका फूलहरुले भरिएको यो भूमी जो सुकैको लागि मनमोहक त छ नै त्यसमा पनि ती वन, अनि पाखाहरुमा खेलेका अनि रमाएका मानिसहरुको लागि त झन् यो ठाउँ प्राकृतिक रुपले साच्चिकै अति सम्पन्न र सुन्दर लाग्छ नै।

यो गाऊँ भूभागको दक्षिणी मोहडामा रहेको छ जहाँबाट अन्य छिमेकी गाउँहरु र त्यहाँका पहाड, जंगल र खेतबारीहरु सहजै नजर गर्न सकिन्छ । यो गाउँको पूर्वमा निम्वाङ्ग पहाड, दक्षिण पूर्वमा रामली पहाड, पश्चिममा पौराणिक राजदरबार रहेको स्थान राजदरबार र उत्तरी भाग अनि गाउँको शिरैमा चन्वाङ्ग पहाड छ। यसको छिमेकी गाउँहरुमा पश्चिममा मोरावाङ्ग, दक्षिण पश्चिममा सिमा, त्यसैगरी दक्षिणमा क्याङ्सी र दक्षिण पूर्वमा गावाङ्ग गाउँ  अबस्थित छ र धुरी पारिको गाउँहरु यस गाउँबाट उत्तरी भेगमा पर्दछन्, तिनीहरु राङ्गसी र नाखा हुन् । राजनैतिक विभाजनमा यो गाउँ रुकुम जिल्लाको मोरवाङ्ग गाउँ विकास समिति अन्तर्गत वडा नं ८ र ९ मा पर्दछ।

विविधतामा एकता

ऐतिहासिक रुपले यो गाउँ विविध खाले जातजातीहरुका साझा थलोको रुपमा परिचित हुँद आएको छ। यहा  गुरुङ्गहर बस्दछन्त्य सैगरी विविध थरिका मगरहरुको पनि बसोबास यस गाउँमा मनग्य छ। थरिथरिका नेवारहरुको यहाँ बाक्लो बस्ती छ। यहाँ ठकुरीहरु छन् अनि क्षेत्रीहरु पनि। त्यसैगरी दलित समुदायको संख्या यहाँ ठूलो छ। यसरी विविध जातजातिका  मिश्रित गाउँ भैकन पनि यहाँको समाजमा मानवीय तथा सांस्कृतिक सम्बन्ध अत्यन्त सुमधुर छ। जुनै जातिका भए पनि नेपाली भाषालाई एउटा साझा भाषाको रुपमा परापूर्व कालदेखि नै बोल्दै आएका छन् यहाँका बासिन्दाहरु । समाजमा कोही कसैलाई दुःख या समस्या परेको खण्डमा साझा दुःख र समस्याको रुपमा लिने यहाँका मानिसहरुको प्रमुख विशेषता हो।

यस गाउँका युवाहरु सकारात्मक छन्। शैक्षिक रुपले पनि यो गाउँका निवासीहरु अग्रपँक्तिमा रहेको देखिन्छ। देशविदेशको विभिन्न शैक्षिक संस्थाहरुबाट शैक्षिक उपाधि हाँसिल गरेका र गरिरहेका युवाहरु यस गाउँमा मनग्य छन्। कोही शिक्षक छन् त कोहि औषधि व्यवसायी तथा सामुदायिक स्वास्थ्य कर्मी, कोही समाजसेवी छन् भने कोही कानुनी ज्ञाता।

त्यति मात्र नभएर यस गाउँका युवाहरु पत्रकार छन् र इन्जिनीयर बन्नमा तल्लिन छन्। बैदेशिक रोजगारीमा  जाने यूवाहरुको संख्या त झन् बाक्लो छ। कोही मध्यपूर्व एशियाका देशहरु इराक, कुवेत, कतार, दुवई अनि  साउदी अरबमा कार्यरत छन् भने कोही पूर्वी एशियाको मलेशिया भन्ने राष्ट्रमा काम गर्दछन्। विभिन्न उद्देश्यहरु पूरा गर्ने उद्देश्यमा युवाहरु फराकिला भएर देश र परदेशमा रहेका छन।

तर जहाँ गएपनि, जहाँ भएपनि सबैको मायाँ आफ्नै  गाउँमा।  हरेक  क्षण  सबैको  मन आफ्नो  जन्म  थलोले  तानेको छ। यही  ओटप्रोट भावना नै एकताको अदृष्य आत्मा हो र यही एकताको आत्मा आफ्नो महान जननी जन्मभूमीलाई एउटा नमूना गाऊँ बनाउने अभियानलाई सफल बनाउन अश्त्र बन्न सक्नेछ।

जनजातीहरुको संक्षिप्त आप्रवास इतिहास

जीवनको औचित्य र अवसरहरु खोज्दै अगाडि बढ्ने मानव जातिको प्रकृतिलाइ आत्मसात गर्दै झुम्लावाङ्ग  वासीहरुको पुर्खाहरु नेपालका विभिन्न भागबाट यस गाउँमा पाइला टेकेको कुरा विभिन्न इतिहास र किंवदन्तिहरु बाट अवगत हुन आउँदछ।

गुरुङ्ग

यहा आउन  क्रममा गुरुङ्ग जातिहरू  पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने कास्की जिल्लाको उत्तरी गाउँ घान्द्रुकबाट प्रस्थान गरी विभिन्न घुम्ती पार गर्दै यस गाउँमा कर्मक्षेत्र बनाएको कुरा बुझिन आएको छ। यस जातिका पूर्खा स्व. श्री पूर्णसिङ्ग गुरुङ्ग आई यहाँ बसोबास सुरु गरेका रहेछन् जसका वर्तमान पीढीहरु गोठवाङ्ग र केही दाङ्गलिघामा बसोबास गर्दछन्। त्यसैगरी दाङलिघे गुरुङका पूर्व पुर्खा स्व. श्री प्रताप सिंह गुरुङ्ग रहेछन् भने स्व. श्री आजीर गुरुङ्ग (तिमरवाङ्ग) यहाँ आई बसेका रहेछन्।

नेवार

यहाँको एकथरी नेवारहरुका पुर्खाहरु भक्तपुर अर्थात् प्राचिन नाम भाडगाउँबाट प्रस्थान गरी मध्यपश्चिमाञ्चलको दक्षिणी जिल्ला प्यूठान र पश्चिमी जिल्ला सल्यान, बाँके हुँदै सुरुमा रुकुमकोटको आलामा बसोबास गरी त्यहाँबाट झुम्लावाङ्ग आई बसोबास गरेको कुरा थाहा हुन आएको छ । एक केबुनारायण श्रेष्ठ नामका नेवारी पुस्ता आई यस गाउँमा बसोबास गरेको पाइन्छ।

त्यसैगरी अर्काथरी नेवारहरु काठमाडौं  उपत्यकाको भक्तपुर जिल्लाको नगरकोट भन्ने स्थानबाट आई यहाँ घरबास गरेको कुरा खुल्न आएको छ । अर्का एकथरी नेवारहरु काठमाडौं उपत्यकाको ललितपुर जिल्ला वा प्राचिन प्रचलित नाम पाटनबाट आई यहाँ स्थायीत्व लिएको जानकारी हुन आएको छ । साथै एकाथरी नेवारहरु गुल्मी जिल्लाको भाजुखोलाबाट यहाँ आई बसेको व्यहोरा देखिन्छ ।

बुढामगर

मगरहरुमा, बुढा मगरहरु लुम्बिनी अञ्चल गुल्मी जिल्ला भार्सेखानीबाट ऐतिहासिक कालखण्डमा वा आजभन्दा ७ पुस्ता अगाडि अथवा वि.स. १८००   अगावै रुकुमकोटको काल्चेखानी आग्री डेरामा बसी सो स्थानबाट झुम्लावाङ्गमा आई बसोबास गरेको इतिहास सो जातिको वंशावली अभिलेखमा भेटिएको छ। जुन ऐतिहासिक दस्तावेज, झुन्लावाङ्गमा बसोबास गरेका तेस्रो पुस्ताका पुर्खा स्वर्गीय श्री भैरम बहादुर बुढा मगरले लेखि छोडिदिनु भएको इतिहासमा प्रष्ट पारिएको छ। उपरोक्त जातिको प्रथम श्रद्धय पुर्खास्व. श्री बलवीर बुढा हुन् भन्ने अभिलेखमा छ।

अर्का थरी बुढाथोकी मगरहरु बाग्लुङ्ग जिल्लाको डरमखानीबाट यहाँ आई घरजम गरी बसेको कुरा खुल्न आएको छ, जुन समूहमा उपल्लो दाङलिकाका बुढाथोकी मगरहरु पर्दछन्। उक्त बुढाथोकी मगरका पहिलोपूर्खा ढाँट बुढाले यहाँ प्रवेश गरेका रहेछन्। अन्य बुढा मगरहरुमा तुन्वाङ्ग बस्ने र घाम्ताप्ने खोला बस्ने पर्दछन् । जसको हाल सम्म ऐतिहासिक श्रोत खुल्न आएको छैन र खोजी गर्न जरुरी देखिन्छ।

थापा मगर

यस गाउँमा बसोबास गर्ने थापा मगरहरु दुई स्थानबाट यहाँ प्रवेश गरेको बुझिन आएको छ। पहिलोमा सल्यानको दर्मगारबाट झुम्लावाङ्ग आएको भन्ने बुझिन्छ भने दोस्रोमा  (बुढामगरको बंशावलीमा उल्लेख भए बमोजिम)  उनीहरु मगरात चाहारेबाट आएका दर्लामी थापाहरु हुन भन्ने लेखिएको छ। यसो त या यी मगरहरु एकपछि अर्को ठाउँमा सरी अन्तत यहाँ प्रवेश गरेको हुनुपर्दछ, या दुईवटा अभिलेखमा एउटा मात्र सत्य सावित हुन सक्दछ। यहाँ पहिलो पटक प्रवेश गर्ने थापा मगरहरुको पूर्खा रणसिंह थापा हुन भन्ने बुझिन्छ।

राना मगर

राना मगरहरुको पाइला यस गाउँमा बाग्लुङ्ग जिल्लाको गल्कोट भन्ने स्थानबाट सुरुवात गरी यस गाउँमा पुगी स्थायित्व पाएको भन्ने खुल्न आएको छ। यी मगरहरुको पुर्खाको प्रवेश एकथरी नेवार जातिहरुको पुर्खासँग सँगै भएको राना मगरहरुको पुर्खामध्य पहिलोपल्ट यहाँ आई बसोबास गर्ने स्व. चामनारायण राना हुन भन्ने खुल्न आएको छ।

श्रीसमगर

मगर जातिहरुको अर्कोथरी मगर श्रीस मगरहरु यस गाउँमा स्थायी रुपले बसोबास गर्दछन्। उनीहरुको अनुसार  श्रीसमगरहरु बाग्लुङ्ग जिल्लाको डरमागारबाट झुम्लवाङ्ग आई बसेको भन्ने बुझिएको छ। स्व.श्री दम्मर श्रीसले यहाँ आई बसोबास गरेका रहेछन्। पून मगरहरुले पनि यस गाउँमा बागलुङ जिल्लाबाटै आगमन भएको कुरा सुन्न आएको छ। पून मगरहरुमा स्व. सिङ्गे पून भन्ने पुर्खा आई यहाँ बसेका रहेछन्।

अन्य मगरहरु जस्तै यस गाउँमा रोका मगरहरु पनि बसोबास गर्दछन्। यी रोका मगरहरुको पुर्खा धवलागिरी  अञ्चल बाग्लुङ जिल्लाको छाप खानीबाट आएका भन्ने खुल्न आएको छ। स्व. दुर्गा रोका मगर आई यहाँ बसोबास सुरु गरेको कुरा बुझिन्छ।

मल्ल ठकुरी

यस गाउँमा मल्ल ठकुरीहरु पनि बस्दछन्। यी मल्ल जातिहरु यस गाउँको प्रवेश पनि बाग्लुङ्ग जिल्लाको गल्कोट भन्ने ठाउँबाट भएको कुरा बुझिएको छ। यस जातिका यस गाउँमा पहिलो बसोबास गर्ने पुर्खा स्व. श्री चेतन गिरी मल्ल रहेछन्।

क्षेत्री थरी

क्षेत्रीहरुमा यस गाउँमा बोहरा क्षेत्रीहरुको बसोबास छ। सो जाती रुकुमकोटबाट जगतप्रसाद बोहरा आई बसेको कुरा खुल्न आएको छ।

कामी/नेपाली/दलित/उत्पीडित जाति

यस गाउँमा कामी जातिको मनग्य संख्या छ। यस जाती पनि अन्य जातजातीहरुको आगमन सँगसँगै वा अगाडि पछाडि आएको हुने अनुमान गर्न सकिन्छ। काला जातीका रामाजाली कामीहरु बाग्लुङ जुगजा कितिनीबाट आएको भन्ने बुझिन्छ भने अर्का थरीकामीहरु बाग्लुङ्ग जिल्लाको भूजीखोलाको बोङखानीबाट आएको भन्ने बुझिन आएको छ। अन्य उत्पीडित जातिहरुमा सुनार, नेपाली आदि पर्दछन्। यी सबैको प्रष्ट पुर्ख्यौली आप्रवास स्थान थाहा हुन नसकेको भए ता पनि यी दलितहरु पनि अन्य कामीहरु सरह पूर्वतिरबाट यस गाउँमा आएका हुन सक्छन्।

सारांशमा के निष्कर्ष निस्कन्छ भने यस गाउँका निवासीहरुको पुर्खाहरु यस गाउँमा खनिजको उत्खननको विकास भएको बखतमा सो उद्योगको विभिन्न कार्यमा संलग्न भएका र विविध कामका शिलसिलामा यस गाउँमा बस्दै  आएका रहेछन् भन्ने बुझ्न सकिन्छ। धेरैजसो बाग्लुङ्ग जिल्लाका विभिन्न भागबाट केहि अन्य स्थानबाट यस ठाउँमा प्रवेश गरेका रहेछन्। खानी टक्सार बन्द भएपछि खेतीबारीमा लागि परी कृषि पेशालाई विभिन्न पिढींका मानिसहरुले पछ्याएको तथ्य हो जस्तो लाग्छ।