सामुदायिक भवन

झुम्लावाङग गाँउ, देशका ६ प्रमुख जातिहरू- मगर, नेवार, गुरुङ्ग, ठकुरी, क्षेत्री तथा दलितहरूका ८५० जना भन्दा वढि मानिसहरूको सामुहिक वासस्थान हो।

हाम्रो गाँउमा व्यक्तिगत तथा सामुहिक जीवनमा आइपर्ने दैनिक उतार चढावमा समाजका भद्र भलाद्मीहरूको अभिभाकत्वमा व्यापक रूपमा छलफल गर्ने चलन छ । त्यस्तो छलफलवाट निकालिने समाधानका उपायहरूलाई सवै सदस्यहरूवाट सम्मान गर्ने गरिन्छ । यसले सदियौ देखि हाम्रो समाजमा रहेको सौहाद्रपूर्ण वातावरणलाई यथावट कायम राख्ने गरिरहेको छ ।

हामीहरू यतिमानै सन्तुष्ट रहने ठाँउ भने छैन । त्यसैले हाम्रो समाजमा रहेको राम्रो प्रचलनहरूलाई कायम राख्दै, हाम्रो संस्कृति र व्यवहारमा भएका कमिकमजोरीहरूलाई समय सापेक्ष परिष्कृत तथा व्यवस्थित ढंगले अगाडी वढाउने आवश्यक्ताको महसुस हामीहरूले गरिरहेका छौं ।

वर्तमान स्थिति

१.       गाँऊमा समय समयमा हुने सामुहिक भेला र गाँऊमा कहिले काँही उठ्ने वादविवादको छलफल द्वारा समाधान गर्नको लागि चाहिने स्थान अभावको कारण त्यस्ता सामुहिक भेला कि त विध्यालय भवनमा गर्नु पर्छ जसले विध्यार्थीहरूको त्यो दिनको पढाइ विथोलिन्छ, कि त पानी नपर्ने कुनै दिन कुरेर खुला आकाशमुनि वसेर गर्नु पर्ने हुन्छ । यसले हामीहरूले गर्ने निर्णय प्रकृया र त्यसको कार्यान्वयनमा ढिलाई भइरहेको छ ।

२.      हाम्रो समाजका ६५% सदस्यहरू लेख्न र पढ्न सक्दैनन् । विगतमा सरकार तथा स्थानीय स्तरमै सञ्चालनमा चलाइएको साक्षरता तथा प्रौढशिक्षा कार्यक्रम अपेक्षाकृत सफल हुन सकेनन्। यसो हुनुमा विभिध कारणहरु मध्य कक्षा सञ्चालनको लागि एक निश्चित स्थानमा व्यवस्थित एउटा ठूलो सामुहिक कोठा नहुनु पनि एक हो ।

३.      हामीहरू स्वास्थ्य, शिक्षा, वातावरण, मानव अधिकार लगायतका क्षेत्रमा हाम्रो समाजका सदस्यहरूलाई तालिमहरूको व्यवस्था गर्न चाहान्छौं, जो अहिले उचित स्थानोभावको कारण सम्भव छैन । त्यसरी नै कहिले काहि सरकारी तथा अन्य गैरसरकारी संघसंस्थाहरूवाट विभिन्न क्षेत्रमा प्रदान गरिने तालिमहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्न नसकिइरहेकोले हाम्रो समाजका सदस्यहरूले त्यस्ता तालिमहरूवाट अपेक्षाकृत लाभ लिन नसकेको अवस्था छ।

४.      हामीहरूले सञ्चालन गरिरहेको परियोजनाहरूमा देश तथा विदेशवाट स्वयमसेवकको रूपमा हामीहरूलाई सहयोग गर्न चाहाने प्राविधिक तथा दक्ष स्वयमसेवकहरूको लागि चाहिने पाहुना घरको अभावमा जसरी हामीहरू उहाँहरूलाई सम्मान गर्न चाहान्छौं, त्यो व्यवस्थित ढंगले गर्न नसकिरहेको अवस्था छ।

५.     झुम्लावाङ्ग गाँउ संस्थापनाको कार्यालय अभावको कारण व्यवस्थित रूपमा गर्न सकिने निर्णय प्रकृयामा मात्र ढिलाइ नभएर प्रवासमा रहेका हाम्रो समाजका सदस्यहरू तथा मानवीय भावनाले प्रेरित भएर उदारताका साथ हामीहरूको अभियानमा साथ दिने देशी तथा विदेशी महानुभावहरू तथा संघ-संस्थाहरूसंग समयावधि भित्रै समचारको आदान प्रदान हुन नसकिरहेको स्थिति छ ।

यी माथि उल्लेखित स्थितिको निराकरणको साथ साथै हाम्रो समाजका सम्पूर्ण सदस्यहरूलाई एउटै घरको छाता मुनिभएको भौतिकरूपमै प्रत्यक्ष अनुभुति दिलाउन सामुदायिक (साझा) घरको आवश्यकता छ ।

भवन निर्माण

समाजमा उदाहरणीय काम गर्नलाई उदाहरणीय व्यक्तिहरूको आवश्यक्ता हुन्छ । हाम्रो समाजका त्यस्ता धेरै व्यक्तिहरु मध्य एक हुनुहुन्छ- श्री रामप्रसाद गुरुङ्ग र उहाँको परिवार । उहाले सामुदायिक भवनको लागि आवश्यक पर्ने जग्गाको ठूलो भाग आफ्नो वुवा आमाको स्मृतिमा प्रदान गर्नु भएको छ। थप चाहिने जग्गा संस्थापनाका कुवेतमा कार्यरत हाम्रो गाँउका आप्रवासी सदस्यहरूले मासिकरूपमा उठाउने कोषवाट खरिद गरिएको छ ।

यस भवनमा कम्तिमा पनि ५० जना जति अटाउने तालिम कोठा, गाँउमा आउनु हुने विशेष पाहुनाहरू तथा देश भित्रैवाट र विदेशवाट हामीहरूको अभियानमा साथ दिन आउने स्वयमसेवकहरुको लागि २ वटा पाहुना कोठा, एउटा पुस्तकालय कोठा, र कार्यालय कोठा हुनेछन् ।

यस भवन निर्माण कार्य पुरा हुँदा रू ४५,०००,००।०० (पैतालिस लाख) रूपैया लाग्ने अनुमानित वजेट तय भएको छ । यसमा गाँउमा भएका सदस्यहरूले रू ११,२५,०००।०० ( लगभग वाह्र लाख- कुल लागतको कम्तिमा पनि २५ प्रतिशत) वरावरको जन श्रमदान गर्नेछन् भने वाँकि रकम गाँउका आप्रवासीहरूले मासिकरूपमा उठाउने कोषवाट र हाम्रो अभियानमा व्यक्तिगत तथा संस्थागत रूपमा साथ दिने शुभ चिन्तक सहयात्रीहरूवाट जुटाइने छ। यसको पहिलो उदाहरण हाल वेलायतमामा वसोवास गर्ने गणेश श्रेष्ठ र उहाँको परिवार हुनुहुन्छ । उहाँले अहिले सम्म रू १,०००,००।०० (एक लाख रुपैया) संस्थालाई हस्तान्तरण गरिसक्नु भएको छ ।

भवनको जग हाल्ने काम गतसाल मंसिरमा नै सम्पन्न भइसकेको छ । अहिले यसको लागि आवश्यक पर्ने निर्माण सामाग्रीहरू जुटाउने काम हामीहरू गरिरहेका छौं। पुन: कामको थालनी यहि पौष महिना देखि सुरु हुन गइरहेको छ।

यो भवन निर्माण झुम्लावाङ्ग गाँउ संस्थापनाको दोश्रो महत्वपूर्ण परियोजना हो । यसको डिजायन र निर्माणकार्यको सुपरिवेक्षण यस गाँउका आर्किटेक्ट इन्जिनियर अजय मगरले गरेका छन् भने ओभरसियरहरू लक्षमण वुढामगर र तेजेन्द्र वुढामगर परियोजनाको दैनिक काममा प्रत्यक्ष रूपमा संलग्न भइरहेकाछन् ।