सामुदायिक स्वास्थ्य केन्द्र

पृष्ठभूमि

यस परियोजनाको खाका यस संस्थाका काठमाण्डौ संयोजक तथा कर्म समूह नेपालका तत्कालिन अध्यक्ष श्री पूर्ण मगरको संयोजकत्वमा पार्टेज एट सोइन फ्रान्सका अध्यक्ष सुश्री भेरोनिक चेनेटको संलग्नतामा सन २०६५ सालमा गांऊमा २ हप्ता स्वास्थ्य सिविर संचालन गरे पश्चात भएको हो । स्वास्थ्य केन्द्रको लागि आवश्यक पर्ने जग्गा श्री गजवहादुर गुरुङले आफ्नो जेठा छोरा स्वर्गिय इर्खलाल गुरुङ्ग र थुम कुमारी वुढामगरले आफ्नो स्वर्गिय छोरा थमन वुढाको स्मृतिमा प्रदान गर्नु भएको छ ।  उहाँहरू दुवैले आफ्ना कलिला सन्तानहरू दुर्घट्नामा गुमाउनु भएको थियो ।

health-centre-nepal

झुम्लावाङ्ग सामुदायिक स्वास्थ्य केन्द्रको भवन

सामुदायिक स्वास्थ्य केन्द्र झुम्लावाङ्ग गाँउ संस्थापनाले सञ्चालनमा ल्याउन लागेको एक महत्वपूर्ण परियोजना हो । यस स्वास्थ्य केन्द्र सञ्चालनमा आए पछि यस गाँउका वासिन्दा मात्र नभएर यस भेगमा वसोवास गर्ने अनुमानित २५,००० हजार जनसंख्या प्रत्यक्ष अप्रत्यक्ष ढंगले लाभान्भित हुनेछन् ।

भवन निर्माण

हामीहरू यस केन्द्रको भवन निर्माणमा गत सालको मंसिर महिना देखि लागि परेका छौं । यहि भाद्र महिनाको अन्त्यमा यस परियोजनाको पहिलो चरणको भवन निर्माणकार्य सम्पन्न भइसकेको छ । दोस्रो चरणको भवन निर्माण कार्य सन २०६९ सालको मंसिर देखि सुरु हुने छ । यस केन्द्रको भवन निर्माणको लागि आवश्यक पर्ने अनुमानित लागत ६५ लाख रूपैयामा ५८ लाख रुपैया पार्टेज एट सोइन फ्रान्सले चरणवद्द रूपमा उपलव्ध गराउने, समाजका सदस्यहरूले कुल लागतको २५% जनश्रमदान गर्ने, तथा यस गाँऊका आप्रवासी सदस्यहरूले यसको लागि आवश्यक पर्ने प्राविधिक सहयोग उपलव्ध गराउने प्रतिवद्दताका साथ काम भइरहेको छ । प्राविधिक तर्फको संयोजन आर्किटेक्ट ईन्जिनियर अजय मगरले गरिरहनु भएको छ, जसमा ओभरसियर लक्षमण वुढा र तेजेन्द्र वुढा सदस्यका रूपमा कामगरिरहेका छन् ।

प्राथामिक स्वास्थ्य सेवाको सुरुवाट नया वर्ष २०६९ को प्रारम्भवाट सुरु गर्नलाई आवश्यक पर्ने संरचना, मानवीय संसाधन र स्वास्थ्य उपकरणहरूको तर्जुमा गर्न हामीहरू अहिले जुटिरहेकाछौं।

भविष्यको योजना

प्राथामिक स्वास्थ्य सुविधाको सुरुवाट विक्रम सम्वत २०६९ वाट हुनेभए पनि हामीहरूको भविष्यको मूख्य लक्ष चाहि १५ वर्ष भित्रमै यस स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न १५ शैयाको सामुदायिक अस्पतालमा रुपान्तरण गरि यस भेगका आम-जनसमुदायलाई उच्च स्तरको स्वास्थ्य सुविधा प्रदान गर्नु हो । यसको लागि आवश्यक पर्ने दक्ष जनशक्ति हामीहरुकै समाजवाट उत्पादन गर्नुको साथसाथै भौतिक पुर्वाधार तयार गर्नको लागि स्वास्थ्यको क्षेत्रमा कार्यरत महानुभावहरू, र संघसंस्थाहरूसंग सहकार्य र अनुभवको आदान प्रदान गर्नको लागि हामीहरू उत्साहित छौं ।