शिक्षा

विध्यालयको इतिहास:

श्री चित्रवहादुर वुढामगर, चन्द्रप्रसाद रानामगर, श्री गोरे गुरूङ्ग, श्री रामवहादुर वुढामगर, श्री टेकवहादुर श्रेष्ठ, श्री विनराज सुनार, श्री धनवहादुर थापा, श्री मोहनलाल रोकामगर, श्री टेकवहादुर रानामगर, तथा विध्यालयका पहिलो शिक्षक भएर आउनु भएका श्री रामवहादुर घर्तिमगर को विशेष पहलमा समाजका अन्य भद्रभलाद्मि अभिभावकहरूको सक्रिय सहभागितवाट झुम्लावाङ्ग गाउँमा पहिलो प्राथामिक विध्यालयको औपचारिक स्थापना वि.सं २०३४ सालमा भएको र यसले नेपाल सरकारवाट २०३९ साल फाल्गुण ५ गत्त स्विकृत्ति पाएको हो । त्यहि विध्यालयवाट आफ्नो शिक्षाको सुरुवाट गरेका युवापुस्ताले अहिलेसम्म विभिन्न क्षेत्रमा दक्षता हासिल गरिरहेकाछन्।

Founding Fathers of Our School

राष्ट्रिय गीतका रचनाकार व्याकुल माइलाका विध्यालय स्थापनाकालका संस्थापक सदस्यहरू सम्मानित कार्यक्रममा- पौष ११, २०६८ साल

यहि पुस्ताको अगुवाइमा, प्राथामिक विध्यालय झुम्लावाङ्गका संस्थापकहरू, अभिभावकहरु र नया पुस्तासंग हातेमालो गर्दै यस गाउँका वालवालिकाहरु तथा युवाहरूलाई व्यवहारोपयोगि शिक्षा दिन र यस गाँउमा सञ्चालित अनि भविष्यमा सञ्चालनमा लिइने परियोजनाहरूको लागि आवश्यक पर्ने मानविय जनशक्ति यहि गाउँमै तयार गर्ने प्रमुख उद्देश्य र योजनाका साथ अगाडी वढिरहेको छ।

अहिलेको स्थिति:

यस प्राथामिक विध्यालयका प्रधानअध्यापक श्री होमजंग रानामगर यसै विध्यालयको उत्पादक हुनुहुन्छ। अहिले हाम्रो विध्यालयमा प्रारम्भिक शिक्षा (प्रि-स्कूल) देखि ५ कक्षा सम्म २०० भन्दा अलिक वढि विध्यार्थीहरू अध्यनरत छन् । विध्यालयको भौतिक पूर्वाधार जुन स्तरको हुनुपर्ने हो, त्यो अहिले छैन । कक्षा ५ सम्मको पढाइ यस विध्यालयवाट सकेपछि थप अध्ययनको लागि दैनिक लगभग २ घण्टाको वाटो हिडेर उच्च माध्यामिक विध्यालय सिमा पुग्नु पर्छ । यसको साथ साथै हाम्रो समाजका ६५% सदस्यहरू अझै साक्षार हुन वाँकि छन्। यो तथ्य हामीहरूको अगाडीरहेको चुनौति मात्र होइन, अवसर पनि हो भन्ने हामीले वुझेका छौं।

सहयोगि हातहरू:

हाम्रो विध्यालयको स्थितिमा सुधार गर्न हामीहरू लागि परेका छौं । यसको लागि झुम्लावाङ्ग गाँउ संस्थापनाले शिक्षाको क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाहरू संग सहकार्य गर्न सुरुवाट गरिसकेको छ । यसैको परिणाम स्वरुप विक्रम सम्वत २०६६ मा “कर्म समूह नेपाल” को विशेष पहल कदमीमा फ्रान्स स्थित संस्था “एशोसियन पार्टेज”को आर्थिक सहयोगवाट कार्यालयको लागि एउटा स्टिलको दराज र ५ वटै कक्षाको लागि कालोपाटी (ब्लैकवोर्ड) को व्यवस्था गरिएको छ । यहि संस्थाले यस विध्यालयमा अध्यनरत जेहन्दार तथा पारिवारिक आर्थिक स्थिति सवल नभएका पृष्ठभूमिका २० जना विध्यार्थीहरूलाई त्रैमासिकरूपमा छात्र-छात्रावृति उपलव्ध गराउदै आइरहेको छ।

यसरि नै वि.सं २०६७ सालमा आदिवासी मानव अधिकार सरोकार केन्द्र (ह्युरिन्पेक), काठमाण्डौ को पहलमा आयरल्याण्डको फुगलाम नामक संस्थाको सहयोगवाट विध्यालयको कार्यालय भित्रै सानो पुस्तकालय (मिनि लाइव्रेरी) को स्थापना भएको छ । यस पुस्तकालयमा विभिन्न विषयका १५० पुस्तकहरू, मुना मासिक वालपत्रिका, कान्तिपुर दैनिक, तथा गोरखापत्र दैनिक पत्रिकाहरु विध्यार्थी र शिक्षकहरूको अध्ययनको लागि उपलव्धछन् ।

हाम्रो भविष्यको योजना:

झुम्लावाङ्ग भिलेज फाउण्डेशन, यस गाँउको प्राथामिक विध्यालयलाई सुविधा सम्पन्न वनाउदै, र १० वर्ष भित्रै व्यवहारपयोगि शिक्षा तथा विभिन्न विषयमा तालिम सञ्चालनगर्न प्राविधिक शिक्षालयको स्थापना गर्ने योजनाको साथ अगाडी वढिरहेको छ।  यसको लागि आवश्यक पर्ने भौतिक पूर्वाधार तयार गर्न विक्रम सम्वत २०६७ जग्गा समेत खरिद गरिइसकेको छ । यस जग्गाको लागि आवश्यक पर्ने आर्थिक रकम झुम्लावाङ्ग गाँउ आप्रवासी समिति, कुवेत ले जुटाएको थियो ।

हामीहरू हाम्रो समाजका सवै सदस्यहरूलाई ५ वर्ष भित्रै शतप्रितशत साक्षार वनाउन चाहान्छौ । हाम्रो साँस्कृतिक घर (वहुउद्देश्सिय साझा घर) को निर्माण कार्य सुरू भइसकेको छ । यो सम्पन्न हुँदा साथ हामीहरू प्रौढ शिक्षा लगायतका तालिमहरू हाम्रो समाजका सदस्यहरूको लागि यस भवनमा सञ्चालन गर्ने छौं ।

शैक्षिक कोष :

झुम्लावाङ्ग भिलेज फाउण्डेशनको स्थापना नै यस गाँउमा दिगो विकासको पूर्वाधार तयार गर्नलाई भएको हो । यसको लागि आवश्यक पर्ने जनशक्ति जव सम्म हामीहरू यहि गाँउवाट तयार गर्न सक्दैनौ, तव सम्म हामीले सञ्चालन गर्ने परियोजनाहरूमा हाम्रो पर-निर्भरता भइरहने छ। यो  स्थितिवाट मुक्ति पाउन हामीले शिक्षाको क्षेत्रमा र प्राविधिक तालिम सञ्चालनमा ठूलो लगानी गर्नै पर्छ । यो लगानी भनेको हाम्रो स्वनिर्भर भविष्य प्रतिको लगानी हो । यसको लागि आवश्यक पर्ने आर्थिक रकम जुटाउन फाउण्डेशनले “शैक्षिक कोष” खडा गरेको छ ।

यस कोषमा जम्मा भएको पैसा झुम्लावाङ्ग गाँउका युवा-युवतिहरू र वालवालिकालाई निरन्तर छात्र-छात्रावृति उपलव्ध गराउनमा प्रयोग हुने छ । यो कोषवाट छात्र-छात्रावृति प्राप्त गर्ने व्यक्तिले आफ्नो अध्ययन अथवा तालिम सकिए पछि हाम्रै गाँउमा फर्केर निश्चित अवधि सम्म अनिवार्यरूपमा सेवा गर्नेछन् ।