Filed Under:  समाचार, स्वयंसेवकहरुको दायरी

खाली-खाली गाउँहरू- ‘फुटलुज माइग्रेसन’ ले रन्थनिएका गाउँको कथा

7th February 2015   ·   0 Comments

स्मिता मगर

झुम्लावाङ, रुकुम, माघ २३ –

कहिल्यै नरोकिएलाझैं परेको झरीले मेरी आमालाई बल्ल-बल्ल सातादेखि चलिरहेको मकै गोडमेल केही छिन् रोकेर ओखर फोर्ने मौका मिलाइदियो । असार मसान्तमा धुमधामका साथ मनाइने राँके पर्वको लागि ओखर-घाँजीबाट तेल पेलेर चिल्ले रोटी बनाउनु थियो उनलाई । सत्तरी हाराहारीकी आमाले ट्वाक्क-ट्वाक्क ओखर फोरेको देख्दा रहर र कहर दुवै भावनाले प्रोत्साहित भएका मेरा बुढी र चोर औंलामा दुई दशकपछि समातेको लोहोरो दुई दर्जन ओखर नफोर्दै पटक-पटक रगत निस्कने गरि बजि्रँदै थियो । त्यत्तिकैमा सानीमा टुप्लुक्क आइपुग्नु भयो ।

साँरा (दुम्सी) ले आधाभन्दा बढी आलु खाइदिएछ भन्दै, गनगन गर्दै छिरेकी उनीसँगै असारे हिलो पनि घरभित्र पस्यो । निथ्रुक्क भिजेकी उनी आगो नजिकै बसेर गुन्यु-चोलो-गादा-धरा-खास्तो सबै सुकाउन थालिन् । हिँडेर दुई मिनेट पनि नलाग्ने दूरीमा एकअर्काको घर भएका तकसेराका यी दिदीबहिनी झुम्लावाङ्गे बूढा सन्तानको दाजु-भाइसँग कर्म चलाएका छन् । तर पनि, ‘टाउको कन्याउन नपाउने’ व्यस्तताले गर्दा उनीहरूको भेट हुन साइतै जुर्नुपर्छ । त्यसैले महिनौंपछि जुरेको साइतमा एकअर्काको जुम्रा मारामार गर्दै लामो समयदेखि मनमा लागेका सुख दुःखका कथा व्यथा साटासाट नहुने कुरै भएन ।

उनीहरू कतिखेर खाम त कतिखेर खस कुरामा नरोकिएरै एकअर्काको कुराकानीमा होमा हो मिलाइरहेका थिए । त्यत्तिकैमा सानिमा हस्तकलाले भनिन्, ‘कइले-कइले त सोच्छु नाना, मेरा बच्चाहरूमा एकजना लाटो या लङ्गडो भएको भए पनि हुन्थ्यो ।’ म झसंग भएँ । यस्ता शब्दका प्रयोग ! यस्ता आशा-आकांक्षा ! त्यो पनि आफ्नो बच्चाप्रति ? आमाले ? अविश्वसनीय ! क्रूर ! म यस्तै सोच्दै थिएँ । चार सन्तानकी आमा उनले कुरा सिध्याएकी थिइनन् । थपिन्, ‘त्यस्तो भइदिएको भए त नाना, सन्तान आफैंसँग त हुन्थ्यो । उसलाई म जसरी भए पनि पाल्थेँ ।’ सानिमाको कुरा भुईंमा नझर्दै आमा भगवतीले जोडिन्, ‘अँ के कान्छी ! माया गर्छुभन्दा पनि गर्नै नपाइने !’

उहाँहरूको यो संवादले मलाई बारम्बार झस्काइरहन्छ । कारण एकदमै साधारण छ । यसले ‘शिक्षित र सभ्य हुँ’ भन्ने मेरो विश्वास अनि घमण्डमा ठेस लगाएको छ । किनभने, मलाई गाउँ पसेको दुई महिना हुँदासम्म त्यसरी मन झस्केको थिएन जति सानिमाले सहरमा ‘असभ्य’ मानिने ती शब्द प्रयोग गर्दा भएको थियो । यो अनुभूतिले मलाई मेरो सहरिया शिक्षा र सभ्यताले ग्रामीण वास्तविकतासँग भन्दा बढी शब्दसँग झस्किने बनाइरहेको छ भन्ने लागिरहन्छ । म शब्दमा झस्किँदै गर्दा ग्रामीण शाश्वत फेरिएको छ ।

आमा-सानिमाबीचको उल्लिखित संवादजस्तै गाउँमा मलाई झस्काउने शब्दहरू यता-उता, जता-ततै सुन्ने गर्छु । अभिव्यक्तिका शब्द फरक होलान् तर भावना उस्तै । त्यसमा लुकेका पीडा उस्तै, यथार्थ उस्तै । एकदिन बाबाले भन्नुभयो, ‘एक मनले सोच्दा त, एउटा सन्तानलाई नपढाएको भए पनि हुन्थ्यो जस्तो लाग्छ≤ मर्ने बेला पानी दिने कोही त हुन्थ्यो ।’ पञ्चायत कालतिर झुम्लावाङमा स्कुल स्थापना गर्न अरूसँगै मुद्दा खेपेका उनको मुखबाट यस्ता शब्द सुन्नु विडम्बना हो । तर, बेलाबेलामा गाउँमा बचेका वृद्ध-वृद्धाले व्यक्त गर्ने यस्ता विचारमा अहिलेको नेपाली ग्रामीण भेगको तीतो सत्य झल्किन्छ ः गाउँ खाली-खाली छ ।

धेरैको परिवारमा पानी सारिदिने बच्चा छैनन्, घाँस दाउरा ल्याइदिने युवा छैनन्, हलो जोतिदिने लोग्ने छैनन् । यी गाउँ रित्तो रित्तो बनाउनेहरू कोही शिक्षाका लागि सहरतिर लागेका छन्, कोही सहरमा पढ्नेका स्याहारका लागि । कोही पहुँच र विकल्पका लागि । कोही गाउँले जीवनदेखि वाक्क-दिक्क भएर सुख सुविधाका लागि । वैदेशिक रोजगारीमा गएका केही मलेसियातिर अड्किएका छन्, केही खाडी मुलकको प्रचण्ड घाममा निसास्एिका । केही कोरिया त कोही युरोपको ठन्डीमा कठ्यांगि्रएका । यसरी नै बाध्यताको गर्मीमा निसास्सिन, चिसोको कहरमा कठ्यांगि्रन तयार हुँदै भर्खर उमेर पुगेका युवाहरू जिल्लादेखि राजधानीको पासपोर्ट बनाउने लाइनमा उभिँदा गाउँ रित्तो हुन्छ । जनयुद्धको पीडामा जग्गाजमिन बेचेर सहर छिरेकाका लागि त झन् न र्फकन घर छ, न त गरिखाने ठाउँ नै । तर उनीहरूले छोडेको ‘स्पेस’ बूढाबूढीले बारम्बार सम्झिन्छन् ।

यस्तै स्पेसका कुरा गर्दा, अरू वर्षझै मोरावाङ गाविसस्थित श्री सहिद शुक्र उच्च माध्यमिक विद्यालय, सीमामा भर्ना भएका धेरैजसो एसएलसी दिने विद्यार्थी गाउँमा छैनन् । सक्ने परिवारका दाङ आएर ट्युसन पढ्दैछन्, ठीकै अवस्था भएका मुसिकोटको खलंगामा, यता-उता गरी खर्च जोड्न सक्ने रुकुमकोट । टेस्ट दिन माघ महिनामा घर फर्केका उनीहरू केही दिनमा फेरि एसएलसीको तयारी गर्न सहर-सहरमा ट्युसन पढ्नका लागि बाँडिनेछन् ।

केही दिन अलि बाक्लो भएको गाउँ फेरि शून्य शून्य हुनेछ । गाउँमा फेरि स्वास्थ्यले नथामेका, रुपियाँले नभ्याएका, उमेरले साथ नदिएका मात्र बाँकी हुनेछन् । फेरि वृद्ध-वृद्धालाई पानी सार्ने, चुलोमा आगो बालिदिने, गाईबस्तु हेरिदिने, खेतबाली गरिदिनेहरूको खाँचो हुनेछ । यस बढ्दो खाँचोको कारण पनि होला बालविवाहको संख्या धेरै छ । केटाले पासपोर्ट बनाउने विचार गर्नासाथ परिवारले विवाहको तयारी गर्छन् ।

गाउँठाउँको चलनचल्ती नै हो- बच्चैमा मागी-विवाहको लागि वचन दिइएको हुन्छ । यदि त्यसो छैन भने केटी फकाउनेदेखि लिएर तान्ने, लतार्ने, भगाउने, के-के गर्नुपर्छ, गर्छन् । सबैलाई हतार हुन्छ । छोरा विदेश गएपछि घरमा काम गर्ने कोही त चाहियो नि ! केहीले छोराले विवाह गरेपछि विदेश जाँदैनन् अथवा विदेश गए पनि ‘हाम्रो’ सम्झनाले नभए आफ्ना पत्नीको मायाले गाउँ फर्किन्छन् कि भन्ने आशामा सानै छँदा विवाह गरिदिन्छन् । यस्तै चलन देखेरै होला कहिलेकाहीं ५/६ कक्षामै पढिरहेकाहरू राजीखुसी विवाह गरेको पनि भेटिन्छ । त्यसैले यसबारे ठट्टा गर्दै झुम्लावाङ प्राथमिक विद्यालयका प्रधानाध्यापक होमजंग रानामगर भन्छन्, ‘म कहाँ स्कुलमा पढाउँछु त ? म त क्याम्पसमा पढाउँछु- मेरा विद्यार्थीहरू चिट्ठी लेख्छन्, लभ गर्छन्, कहिले-काहीँ त विवाह पनि गर्छन् !’

धेरैजसो युवाले २० ननाघ्दै विवाह गर्ने भएकोले तीस छुन लागेकी मेरो काकाको यस ‘नबिकेकी छोरी’ लाई कहिलेकाहीँ अलि अप्ठ्यारै स्थितिमा पार्छ । भदौतिरको कुरा हो । जुकाहरूबाट बच्दै धारामा लुगा धुँदै थिएँ । छिमेकी गाउँका बाजे त्यही बाटो हुँदै खोइ कता जाँदै हुनुहँदो रहेछ । मलाई तलदेखि माथिसम्म राम्ररी हेर्नुभयो र अचानक सोध्नुभयो, ‘पोइल गा’छैनस् ?’ अचम्मित भएको म एकमनले हाँस्दै र अर्कोले ‘ड्युड, नन अफ योर बिजनेस !’ सोचे पनि कसरी जवाफ दिने भनेर अलमलमा परेकी थिएँ । ‘बिहा गरेर के भुप्रेमात लागेको छ र ?’ पछाडिबाट सानिमाको चर्को प्रश्नले दुवै झसङ्ग भयौं । उहाँले थप्नुभयो, ‘अहिले मसँग न जोरा छन् न छोरा छन् । एक्लै छु ।’

गुराँसे लेकमा भैंसी गोठाले पतिलाई डोकोभरी पिठो, आलु, सिन्की, नुन खुर्सानी बोकेर केही दिनअघि सानिमा ‘म त आजकल तरुनी भा’छु । तेरो कान्छाबालाई भेट्न गै’रा’ भन्दै उकालो लागेकी थिइन् । मलाई अप्ठ्यारो अवस्थाबाट बचाउन आइपुगेकी उनको डोको त्यो दिन पनि भरी नै थियो । जुकै जुकाले रगताम्मे भएको पातला खुट्टा पानीमा धुँदै भन्नुभयो, ‘दूध, दही, मही, घिउ, खीर, खाने च्याउ, बेच्ने च्याउले भरिएको छ ।’ यस्तै छ, बूढाबूढी भएको परिवारमा बूढा गाईबस्तुसँग लेक बुकीतिर हुन्छन्, बूढी त्यही गाउँमा खेतीबाली अनि अर्मोपर्मोमा व्यस्त ।

व्यस्तता महिलालाई मात्र छैन । बुकीतिर नगएर गाउँमै बसेका वृद्धाहरूको हालत पनि उस्तै छ । त्यसैले ६० नाघ्न लागेका गाउँका चर्चित कवि कृष्ण थापालाई ‘के कस्तो छ त, मामा ?’ भन्दा जवाफमा भन्छन्, ‘घाँस जाउ आफैं । दाउरा जाउ आफैं । गोला जाउ आफैं । घट्ट जाउ आफैं । धारा जाउ आफैं । कहिलेकाहीं त, ढिँडो बनाऊ आफैं । म घरेलु हिंसामा छु ।’ सहरमा उखान-टुक्काका लागि चर्चित राजनीतिज्ञ केपी ओलीलाई टक्कर दिने यस्तै-यस्तै अभिव्यक्तिले कहिले हँसाउँछ, कहिले रुवाउँछ, कहिले झस्काउँछ त धेरैजसो सोच्न बाध्य बनाउँछ ।

यस्तै फुटलुज माइग्रेसन (ग्रामीणदेखि सहरमा रोजगारीका लागि बसाइ सराइ) को कारण सन्तानलाई माया गर्न नपाउनेहरू, ‘घरेलु हिंसा’ मा परेकाहरू गाउँ विकासको लागि झारा (श्रमदान) गर्न भने कहिल्यै चुकाउँदैनन् । झारामा गइदिने कोही हुँदैनन्, त्यसैले आफैं जान्छन् । गाउँका भलाद्मीहरूलाई कहिलेकाहीं श्राप देलान् या भ्याउँदिन भनेर धम्काउलान् तर झाराको दिनचाहिँ ढुंगा बोक्न, गिट्टी फोर्न, माटो खन्न, दार (काठ), पाइपदेखि जस्तापाता बोक्न जहाँ पुग्नुपर्ने हो त्यहाँ पुगेकै हुन्छन् । स्कुल बनाउने हो कि, स्वास्थ्य केन्द्र, भलिबल खेल्ने होस् या पानी धारा अथवा जलविद्युत्का लागि कुलो खन्न ।

उनीहरूलाई भ्याइ-नभ्याइ छ । उठ्दै-बस्दै ‘आइया…आइया’ गर्दै ठस्ठस् कन्ने बूढाबूढीहरू हड्डी खियाउँदै छन् गाउँ विकासका लागि । शिक्षाका लागि सहर छिरेका र वैदेशिक रोजगारका लागि विदेश गएका छोराहरू गाउँ फर्किने सुरसार नदेखाएपछि झोक्किएकी सानिमाले भनेकी थिइन्, ‘आजकल हाम्रा छोराहरू विवाह गर्दैनन्, पोइल जान्छन् ।’ उनले नै फेरि ‘पोइल’ जानेहरू कुनै दिन घर फर्केर आउलान् भन्ने आशा भने त्यागेकी छैनन् । भन्छिन्, ‘उनीहरू फर्केर आउनेछन् त्यसैले त यति दुःख गरिरहेका छौं । नत्र किन यति टन्टा गर्नुपथ्र्यो ?’ यस्तै छ, आशा, आकांक्षामा अडिएको छ गाउँमा बचेकाहरूको जिन्दगी । धित मर्ने गरी सन्तानलाई माया गर्न नपाएकाहरूको जिन्दगी । पोइल गएकाहरू फर्किन्छन् कि भन्ने आसमा पर्खेकाहरूको जिन्दगी ।

प्रकाशित मिति: २०७१ माघ २४ ११:०५

साभारः कोसेली, कान्तिपुर राष्ट्रिय दैनिक
http://www.ekantipur.com/kantipur/2071/10/23/full-story/339663.html

Readers Comments (0)