Filed Under:  समाचार, स्वयंसेवकहरुको दायरी

गाउँमा पढाउँदा

27th January 2015   ·   0 Comments

स्मिता मगर

पुस २५ , २०७१-

पढाइ त फुर्सदको काम हो, हजूर !’ रुकुमको सीमास्थित श्री सहिद शुक्र उच्च माविका प्रध्यानाध्यापक शशिराम दाहालले कुरैकुरामा भनेका थिए, ‘जब जोत्ने, जिलाउने, टिप्ने, केलाउने, पिस्ने अनि मिन्ने काम सिद्धिन्छन् तब अविभावकले छोराछोरी स्कुल पठाउँछन् ।’

गाउँमा सबै कामबाट फुर्सद मिलेपछि पढाइको पालो आउँदो रहेछ । झन्डै दुई दशक लामो काठमाडौं बसाइले यो यथार्थ बिर्साएको थियो, सायद । या सहरमा बस्दै जाँदा गाउँले जीवनलाई हेर्ने ‘रोम्यान्टिक नोसन’ ले धमिलिँदै गएको बाल्यकालका यादलाई छोपिदिएको थियो । तर, अहिले म यो नाङ्गो यथार्थलाई नजिकबाट नियाल्दैछु- रुकुमको यो गाउँमा स्वयंसेवक शिक्षिकाको रूपमा पढाउँदै गर्दा ।

गाउँले जीवनको यथार्थ सोचेजस्तो सजिलो रहेनछ । विशेषगरेर दशक लामो जनयुद्धले डसेको गाउँ-ठाउँमा । अपवाद नहोला, युद्धले सबैभन्दा बढी बालबालिकामा नकारात्मक असर पार्छ । यताका प्रायः सबैजसो गाउँहरूका बालबालिकामाथि त्यसको असर प्रस्ट देखिन्छ । युद्धकालीन अवस्थामा स्कुल छोड्न बाध्य भएको, स्कुल निरन्तर रूपमा नचलेको, विद्यार्थीको उपस्थितिमा न्यूनता भएको सबैले सुन्दै आइराखेको कुरा हो । तर, युद्ध रोकिएपछि पनि यस्ता समस्याहरू रोकिँदा रहेनछन् । थप नकारात्मक परिणाम आइपर्दा रहेछन् । यस्ता परिणाममध्ये विद्यार्थी र युवामा देखिएको हिंसात्मक व्यवहार चिन्ताको विषय हो ।

यसले गर्दा सायद हिंसामा विश्वास बढेको छ । त्यसैले त विद्यार्थीले मुङ्ग्रो लिएर शिक्षकलाई ‘पास गर्ने भा गर नत्र…’ भन्दै धम्काएका, ‘मेरो छोराछोरीलाई किन पास नगरेको ? खोज्या हो ?’ भन्दै बा-आमाले पाखुरा सुर्किएका घटनाहरू सुनिराखिन्छ । यस्तै कारणले गर्दा सरकारले एसएलसीमा सबैलाई पास गर्ने निर्णय गर्नुभन्दा अघि नै सो नियम अभ्यासमा आएको यथार्थ यदाकदा नसुनिएको पनि होइन ।

यस्तो भन्दैमा फेरि सबै धम्काउने थर्काउनेमा पर्छन् भन्ने होइन । पढाइ कस्तो चलिराखेको छ त भनेर सोध्नेलाई ‘चोर्न पाए पास नत्र फेल’ भनेर गलल हाँस्नेहरू पनि छन् । यसरी पास गराउनेमा अलि ‘तगडा’ शिक्षक-शिक्षिकाको कमी पनि त छैन । यति गर्दागर्दै पनि कक्षा बढ्ने ताल आएन भने फुर्सदमा पढ्ने पढाइलाई थकान मारेका उदाहरण कम छैनन् । पास भएनन् भने उमेरको मतलब नगरी अविभावकले टीकाटालो गरिदिएर छोराछोरीले ‘गुड बाई’ भन्ने शब्द सिक्न नपाउँदै पढाइबाट सधैंका लागि गुड बाई भन्न लगाउँछन् । कहिलेकाहीं विद्यार्थीलाई पनि झोंक चल्दो रहेछ ‘पढाइमा फेल त भइयो नै विवाह नगरी के गर्नु त ?’ अनि भिसा लगाएर ‘लाहुरे’ बन्न जानेहरूले पनि हतार-हतारमा गरेको विवाहले आफ्नो पढाइ त बिसाउँछन् नै पढिराखेकी केटीको पनि छुटाइदिन्छन् ।

यी गाउँतिर सुनिएका/देखिएका कुरा पढ्दा अचम्मित हुने मात्र होइन, कताकता असजिलो पनि लाग्न सक्छ । मलाई लागेको थियो । अझै लाग्छ । नैतिकतामा सम्झौता भएझैं लाग्छ । अलि सोच्दै जाँदा गाउँ नै गाउँले बनेको यो देशमा शिक्षाको यस्तो अवस्था देख्दा नयाँ नेपालको चित्र दिमागले कोर्न सक्दैन ।

तर यस्ता चुनौतीपूर्ण अवस्थाबाट बिरक्तिएर हात-खुट्टा फालिहाल्नुपर्छ भन्ने लाग्दैन । आशाका किरणहरू पनि थुप्रै छन् । सपना देख्ने आँखाहरू थुप्रै छन् । त्यसैले त विद्यार्थीहरू झन्डै दुई घन्टाको बाटो हिँडेर स्कुल पुग्छन्, हरेक बिहान । अनि हरेक साँझ उकालो लाग्छन् त्यही बाटो त्यही समयचक्र पूरा गर्दै । यति हिँड्नु गाउँले जीवनको लागि सामान्य होला, सायद । तर गाउँका विद्यार्थीका लागि हिँड्नु र पढ्नुमात्र दैनिकी हँुदैन ।

हरेक दिन उनीहरू चराचुरुङ्गी बासबाट नउड्दै जंगलका कुनाकाप्चा भ्याउँछन् । कहिले चराहरू भुर्ररर उडेर उनीहरूको सातोपुत्लो उडाइदिन्छन् कहिले उनीहरूले चराको । भुटेको मकै चपाउँदै वनमा घाँस, दाउरा र सोत्तर गर्न पुगेका उनीहरू ८ बजेसम्म घरमा फर्किनैपर्छ समयमै स्कुल पुग्न । तर, वनजंगल पहिलेको जस्तो नजिक छैन टाढिँडै गएको छ, छाँटिँदै गएको छ । ‘वनमा राम्रो घाँस नै पाइएन, ढिलो भइयो,’ हस्याङ्फस्याङ गर्दै कक्षामा छिर्दा कारण बताउँछन् । त्यसैले, बिहान स्कुल पुग्न धेरैजसो हतारमा नै हुन्छन् । म पनि । त्यसैले हरेक दिनजसो हामीबीच प्रतिस्पर्धा चल्छ, दौडमा ।

आफू त ‘बोइलर’ परियो, उनीहरूले जितिहाल्छन् ! बाटोमा असिनपसिन भएर कुदिराखेको बेला पछिबाट वेगमा आएका उनीहरूले आफ्ना खुट्टामा लगाम लाउँदै ‘नमस्ते मिस !’ भन्छन् । कहिलेकाहीं खोई के मुड चल्छ लजाउँदै जिब्रो निकाल्दै ‘गुड मर्निङ् मिस !’ भनेर नमस्ते भनेको दिनभन्दा बढी जोडमा दौडिन्छन् । म उनीहरूलाई भेट्न खोज्छु तर अहिलेेसम्म सकेको छैन । समय भएको दिन दया गर्छन् जस्तो लाग्छ, मलाई पर्खिंदै बिस्तारै दौडिन्छन् । मेरो गाउँ झुम्लाबाङबाट स्कुल भएको सीमा हिँडेर पुग्न दुई घन्टाजति लाग्छ । म अचेल ४५ मिनेटमा कुदेर पुग्छु, विद्यार्थी त मभन्दा झन् छिटो पुग्छन् । स्कुलबाट घर फर्किंदा भने उकालो पर्छ, कुद्न सकिँदैन ।

दिउँसोको चार बजे घन्टी लाग्नासाथ उनीहरूलाई घर र्फकनै हतार हुन्छ । घरमा काम हुन्छ ः पानी भर्नेदेखि गाईवस्तु हुल्ने, सुँगुरलाई भुस दिने, घट्ट पो जानुपर्ने हो कि या सिस्नो टिप्नुपर्ने हो । काम धेरै हुन्छन् । तैपनि कहिलेकाहीं गृहकार्य गरेका हुन्छन्, खै कतिखेर समय मिलाउँछन् । ‘अस्ति सिकाउनुभएको थियो नि त्यो नयाँ शब्द, अं…सिक्रेट क्या सिक्रेट । हो… यो सिक्रेट मन्त्र हो ।’ एकजना छात्राले जिस्कँदै उत्तर दिएकी थिइन् ।

गृहकार्यको कुरा गर्दा उनीहरूले सुरुतिरै एउटा अचम्मको अनुरोध गरेका थिए, ‘शनिबारका लागि गृहकार्य नदिनुहोला है मिस ।’ पछि थाहा भयो, शनिबार स्कुल बिदाको दिन भए पनि उनीहरूको सबैभन्दा व्यस्त दिन रहेछ । हप्ता दिनको सबै काम उनीहरूले गर्नुपर्दो रहेछ । ‘बिदाको दिन पनि घरको काम नगर्ने’ भनेर धेरैजसो अविभावक कराउँदा रहेछन् । आइतबार थकित देखिन्छन् मेरा विद्यार्थी ।

बाली स्याहार्ने र रोप्ने समयको त कुरै नगरौं । उनीहरूको अनुहार हेर्न साता दिन कुर्नुपर्छ । यो वर्ष दसैं-तिहारलगत्तै समय मकै बाली स्याहार्ने समय परेकाले मंसिर सुरु नहुँदासम्म ३० जनाको कक्षामा १ जना विद्यार्थीलाई पढाउँदाको अनुभव बटुले । यस्तो समय आइराख्छ, चैत-वैशाखमा यार्सागुम्बा टिप्न डोल्पातिर लाग्दा, वैशाख-जेठमा गहुँ-जौ स्याहार्दा र मकै छर्दा, असार-साउनमा मकै गोडमेल र वषर्ायाममा पाइने औषधिमूलक च्याउको खोजी गर्दा, कात्तिक-मंसिरमा गहुँ-जौ रोपाइँ गर्दा आदि-इत्यादि । मेरा विद्यार्थीलाई कामै काम छ । पढाइ फुर्सदको काम बन्छ !

यस्तो हुनुमा आर्थिक, सामाजिक, राजनीतिक, धेरै ‘इक’ हरू कारण बन्छन् । अनि सहरतिर थुप्रेको शिक्षामा बस्नेहरूले यस्तो नीति उस्तो नियम लिएर सुल्झाउन नखोजेको पनि होइन होला । तर, पढ्ने संस्कृति विकसित गर्नमा देखाएको उदासीनता विरक्तलाग्दो छ । यो कुरा सीमा स्कुलको नजिकै पाँच वर्षपहिले स्थापना गरिएको सामुदायिक पुस्तकालयको रित्तोपनले स्पष्ट पार्छ । पुस्तकालयको न त विद्यार्थीले नै सदुपयोग गर्न सकेका छन् न त समुदायले नै ।

कारण, हामीमा पढ्ने संस्कृति छैन । शिक्षक शिक्षिकामा त छैन भने विद्यार्थीबाट त्यो आशा गर्नु उनीहरूमाथि अन्याय नै हो । धेरैजसो विद्यार्थीहरू स्कुल पढ्ने परिवारको पहिलो पुस्ता हो । त्यसैले उनीहरूको घरमा पढ्ने र पढाइका लागि प्रोत्साहन गर्ने कुरा कमै हुन्छ । उनीहरूले जे सिक्छन् त्यो शिक्षकबाट स्कुलमा सिक्ने हो तर स्कुलमा उनीहरूको निरन्तर उपस्थिति कमै हुन्छ । यस्तो हुनुमा हामीले कुनाकाप्चा र कन्दरामा लुकेका यस्ता समुदायलाई शिक्षाको महत्त्व बुझाउन नसकेकाले हो । स्कुल भवन निर्माण गर्दैमा सबै शिक्षित हुन्छन् र त्यो भवनको सही उपयोग हुन्छ भन्ने हुँदैन । हामीले शिक्षाको महत्त्व बुझाउन जरुरी छ र विद्यार्थीमात्र नभई सबैमा पढ्ने संस्कृति बसाल्न अत्यन्तै जरुरी छ । नत्र, हाम्रो देशको शिक्षा फुर्सदको काम भइराख्नेछ ।

प्रकाशित मिति: २०७१ पुस २६ १२:१८

साभारः  कोसेली,  कान्तिपुर दैनिक

http://www.ekantipur.com/kantipur/2071/9/25/full-story/337654.html

Readers Comments (0)