Filed Under:  समाचार, स्वयंसेवकहरुको दायरी

रुकुम-रोल्पाका “डाक्डर”

27th January 2015   ·   0 Comments

स्मिता मगर,
माघ ९ , २०७१


‘दबाई छ ?’

तानसेन, पाल्पाको मिसन अस्पताल नजिक बाटोमा झ्याप्प भेटिएका बिरामीको प्रश्नले ब्याकप्याक बोकेका जवान रुकिची इसिदा अलमलमा परेका थिए । कुरा १९६८ तिरको हो, आफूसँग भएको शब्दकोश खोलेर ‘दबाई’ को अर्थ खोजे मरिगए भेटाएनन् । वर्षौंपछि उनलाई पत्तो भयो नेपालका गाउँठाउँमा औषधिलाई दबाई भन्दा रहेछन् ।

भर्खर विदेशीहरूका लागि खुलेको ‘हिमालयन किङडम’ का जनताले विदेशीहरू भेट्दासाथ सोधिहाल्ने यो प्रश्न नेपालीहरूका लागि सामान्य थियो । तर जापानको क्योटो युनिभर्सिटीमा मेडिकल अध्ययनबाट वर्षदिन बिदा लिएर हिप्पीहरूसँग ‘हिचहाइक’ गर्दै एसिया र युरोप यात्रामा हिँडेका २१ वर्षे रिकुचीलाई समय-समयमा झस्काइराख्यो, ब्युँझाइराख्यो । उनलाई जापानका चर्चित अस्पतालहरू क्योटो-मिनामी अस्पताल र युयडा सिमोटानाबे अस्पतालमा हाडजोर्नीका विशेषज्ञ डाक्टरको रूपमा व्यस्त रहँदा पनि यो प्रश्नले छोडेन । आखिरमा, २००६ मा उनलाई यही प्रश्नले डोर्‍याउँदै ल्यायो उनलाई ‘दबाई छ ?’ भनेर सोध्नेको देशमा ।

‘मेरो दोस्रो जीवन यहींबाट सुरु भयो,’ ६७ वर्षे डाक्टर इसिदा मुस्कुराउँदै भन्छन् ।

उनको दोस्रो जीवन सुरु गर्ने यो पलसम्म आइपुग्दा ३७ वर्ष बितिसकेको थियो । अहिलेझैं इसिदा जापानका हाडजोर्नी विषेशज्ञमात्र थिएनन्, ब्रेन सर्जरी, चेस्ट सर्जरी, गाइनोक्लोजी, युरोलोजीमा पनि अनुभवी यिनी ‘डाक्टर विदआउट बोर्डर’ का सदस्य थिए । यतिका वर्षमा उनीजस्तै नेपालको समय र अवस्था बदलिएको थियो । पहिलोपटकको यात्रामा गाउँ-सहर सबैतिर देशको स्वास्थ्य अवस्थामा खासै फरक नभेटेका उनले दोस्रोपटक आउँदा नेपालको स्वास्थ्य सहरमा थुप्रिएको पाए । धेरैजसो स्वास्थ्यकर्मी सहरमै भेटे । गाउँतिरको पनि सहरतिरै लम्किएको देखे । सहरको गाउँतिर जाने त परैको कुरा भयो । दशक लामो सशस्त्र युद्धमा केही गाउँमा भएका स्वास्थ्यकेन्द्र पनि बमले उडाइएका देखे । र ती केन्द्रहरूलाई मर्मतसम्भार गरी फेरि चलाउनतिर केही कदम नचालिएको पाए । पहिलेको भन्दा अहिले गाउँ र सहरको स्वास्थ्यावस्थामा थप असमानता पाए । तर, यति निराशाजनक अवस्थामा पनि हालै चिकित्सक गोविन्द केसीलाई गाउँमा स्वास्थ्यकर्मी पठाउनुपर्छ भनेर अनशन बसेको भेटे । एकप्रकारको ऊर्जा मिल्यो उनलाई ।

नेपालको स्वास्थ्य अवस्था बुझ्न डा. इसिदाले २००६ मै तानसेन मिसन अस्पतालमा स्वयम्सेवकका रूपमा काम गरे । त्यसपछि इराकी युद्धका पीडितलाई उपचार गर्न जोर्डन पुगेका उनी २००७ मा फेरि रुकुम चौरजहारी अस्पतालमा स्वयम्सेवक बन्न आइपुगे । स्वयम्सेवकको रूपमा काम गरिराखेको समय उनलाई नेपालको ग्रामीण स्वास्थ्यावस्थाबारे थप बुझ्न अत्यावश्यक लाग्यो उनलाई । त्यसैले २००९ मा ‘प्राइमरी ट्रमा केयर रिसर्च क्याराभ्यान’ अभियान सुरु गरे । जुम्ला हुँदै रुकुम, रोल्पा, वागलुङसम्म उनले यस क्याराभानको क्रममा १२ वटा स्वास्थ्य अनुसन्धान शिविर चलाए । यस अभियानमा क्रममा उनले ग्रामीण स्वास्थ्यमा रहेको समस्या, सरकारले गाउँको स्वास्थ्यप्रति देखाएको उदासीनताबारे जानकारी हासिल गरे । सामाजिक, आर्थिक तथा लैंगिक असमानताले उपचारमुलोमा पारेका असरका बारेमा पनि उनले अध्ययन गरे । यसबाहेक गाउँघरमा परम्परागत रूपमा उपचारमुलो गरिरहेका ‘ट्रेडिसनल बोन सेटर्स’ (टीबीएस) र ‘ट्रेडिसनल बर्थ एटेन्डेन्ट’ (टीबीए) हरूको महत्त्वपूर्ण भूमिकाबारे पनि थाहा पाए ।

जापानले आधुनिक र परम्परागत औषधिउपचार विधिलाई समायोजन गरेर स्वास्थ्यावस्थामा ठूलो छलाङ मारेको छ । त्यहाँ यसलाई राष्ट्रिय सम्पदाको रूपमा सम्मान र विश्वास गरिन्छ । ‘विडम्बना नेपालमा केही उपचारविधिलाई निषेध गरिएको छ,’ इसिदा चुकचुकाउ छन्, ‘परम्परागत चिकित्सा पद्धति र आधुनिक चिकित्सा विज्ञानबीच समायोजनको बाटो खोज्न जरुरी छ ।’ परम्परागत उपचारमा संलग्नलाई थप तालिम दिएर उनीहरूको सीप प्रयोग गर्न सकिने उनको बुझाइ छ । ‘नेपाल पारम्परिक उपचारमुलोमा धेरै धनी छ साथै प्रकृतिले जडीबुटीमा खुलेरै वरदान दिएको छ,’ उनी थप्छन् । स्वास्थ्य क्षत्रको दिगो समुन्नतिका लागि ‘टप टु बटम’ प्रक्रियाबाट नभई गाउँस्तरबाट सेवा सुरु हुने उनी प्रस्ट्याउँछन् ।

समायोजनमा जोड गर्नुमा उनको मूलमन्त्र ‘सँगै जिउनका लागि’ को ठूलो महत्त्व छ । उनले यो मन्त्र झन्डै ४५ वर्षअघि ‘भियतनाम युद्धमा अमेरिकाले फैलाएको अफवाह ठीक कि भियतनामले फैलाएको ?’ भन्ने प्रश्नको खोजीमा आफ्नो देशबाट म्यानमार, फिलिपिन्स, थाइल्यान्ड, भारत हुँदै हिप्पीहरूसँगै नेपालभित्रको समयमा भेटेका थिए । त्यतिबेला उनले जापनी स्वयम्सेवक चिकित्सक नोबोरु इवामुरालाई तानसेन अस्पतालमा भेटेका थिए । र नोबोरुले सञ्चालन गरिरहेको ‘बीसीजी भ्याक्सिनेसन क्याराभान’ मा केही साता गाउँगाउँमा खोप लगाइदिंदै हिँडेका बेला यो मन्त्र जानेको उनको भनाइ छ ।

डा. इसिदा त्यसैले गाउँगाउँका स्वास्थ्यस्थितिबारे अध्ययन गरिरहेका छन् । यस क्रममा उनी आफ्नो ज्ञान बाँड्छन् । परम्परागत ज्ञान सिक्छन् । उनको यो खोजयात्रालाई सन् २०१२ देखि त्रिभुवन विश्वविद्यालयको सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास) ले प्राज्ञिक अनुसन्धानको रूप दिएको छ । हाल सिनासमा उनी मेडिसिन एन्थ्रोपोलोजी रिसर्चरको रूपमा परम्परागत चिकित्सा पद्धति र आधुनिक चिकित्सा विज्ञानलाई समायोजन गर्ने तौरतरिका खोज्दैछन् । यही क्रममा २०१३ देखि उनले रोल्पाको थवाङमा समुदायसँग मिलेर ‘जलजला सामुदायक स्वास्थ्य केन्द्र र ग्रामीण स्वास्थ्य अनुसन्धान केन्द्र’ स्थापना गरेका छन् । यहीबाट उनी मध्यपश्चिमाञ्चलमा ग्रामीण स्वास्थ्यको अध्ययन गर्दै छन् । हराउँदै गएका परम्परागत चिकित्सा विधि तथा वैकल्पिक चिकित्सा पद्धतिलाई जगाउँदैछन् । र यी बीच समायोजनका उपाय खोज्दै छन् । प्राथमिक स्वास्थ्य स्याहारमा प्राथमिक घटना स्याहार पनि राखिनुपर्छ भन्दै अभियान चलाउँदैछन् । अनि, सहरतिर रुमल्लिएर स्वास्थ्यकर्मीको दरबन्दी भएको संस्थामा पुग्दै नि:शुल्क सेवा दिइराखेका छन् । कहिलेकाहीँ गाउँमा भेटिएका अपर्झट उपचार गर्नुपर्ने बिरामीलाई आर्थिकरूपमै पनि मद्दत गर्छन् । केही महिना रोल्पा, केही महिना काठमाडौं त केही महिना मध्यपश्चिमको कुनाकाप्चामा रहेका, सरकारले नभेटेका, बिर्सिएका गाउँलेहरूको उपचार गरिराखेका हुन्छन् ।

‘सँगै जिउनको लागि’ बाहेक डा. इसिदाको अर्को मन्त्र छ, ‘जिउन सजिलोका लागि’ । पहिलोपटक जसरी उनी ब्याकप्याक बोकेर नेपाल छिरेका थए, त्यसरी नै अहिले पनि ब्याकप्याकमै भेटिन्छन् । फरक यति मात्र छ, अहिले उनको ब्याकप्याकमा स्टेथोस्कोप, यूजीसी पोर्टेबल मेसिन, थर्मोमिटरहरू हुन्छन् । बेलाबेलामा ब्याकप्याकलाई छेउमा थन्काएर बाटैमा भेटिएका बिरामीलाई जाँच गर्दै सरसल्लाह दिइरहेको अवस्थामा उनलाई भेटिनु त्यस भेगका मान्छेका लागि सामान्य हो । शिविरमा जान नभ्याउनेहरूले उनको बाटै ताकेर बसेका हुन्छन् ।

उही रुकुम-रोल्पातिर भेटिने यी डाक्टर केही दिन यता काठमाडौंमा छन् । सातापछि रोल्पा फर्किंदैछन् । यही वर्ष सरकारले ‘सुगम’ मानेका ती जिल्लाका भिराला गोरेटोहरूमा, दुई पाइला एकैपटक टेक्न नमिल्ने स-साना बाटा-घाटामा फेरि भेटिनेछन् । त्यही टीबीएस र टीबीएहरूसँग झुकेर हात मिलाइराखेका हुनेछन् । ‘जिउन सजिलोका लागि’, ‘सँगै जिउनका लागि’ मिलेर काम गरौं भन्दै अनुरोध गरिरहेका हुनेछन् ।

सायद यी डाक्टरले सोचेझैं भयो भने यसपटक रुकुमको झुम्लाबाङ या काँडा गाउँमा त्यही वरिपरिबाट भेला भएका टीबीएस, टीबीएका साथ यिनी स्वास्थ शिविर चलाइरहेको अवस्थामा भेटिनेछन् । अनि उपचारका लागि आएका बिरामीलाई सोधिरहेका हुनेछन् , ‘के भयो ?’ ‘कहाँ दुख्छ ?’ ‘दबाई खानुहुन्छ ?’ या नेपाली नबुझ्ने रहेछन् भने उनी मगर खाम/पाङमा ‘किटाउ टाके ?’ (के भयो ?) या ‘काङ हुर्जे ?’ (कहाँ दुख्छ) भन्दै सोधपुछ गरेको भेटिनेछ । धेरैले उनीहरूको ‘जापानी डाक्डर’ लाई भेट्ने छन् । थुप्रै पर्खिराखेका छन् । किसानको जीवन ! वर्षभरि खेतीपातीले शरीरका धेरै ठाउँ दुखाएको हुन्छ । औषधिमुलो गरिदिने कम छन् । उनको पर्खाइ आतुरीका साथ भइराखेको छ ।

डाक्टर इसिदाको दोस्रो जीवन यसरी नै बित्दैछ । ‘मेरो श्वास जबसम्म रहन्छ यो यात्रा चल्नेछ,’ उनी भन्छन् । अनि, बिस्तारै मुस्कुराउँछन् ।

प्रकाशित मिति: २०७१ माघ १० ११:२४

साभारः कान्तिपुर  दैनिक

http://www.ekantipur.com/kantipur/2071/10/9/full-story/338636.html

Readers Comments (0)