Filed Under:  समाचार

पद्मापथ अर्थात् “नजर” ले स्थापित गरेको “नजिर”

9th December 2014   ·   0 Comments

  • शैलेश श्रेष्ठ, न्यूयोर्क

सांगीतिक कोशेली “नजर” मार्फत सबैको नजर आफु तिर तान्न सफल गीतकार पदमा लिंखा मगर बैनीको बारेमा यस पटक केहि शब्द खर्चन्छु भनेर शिर्षकमा फूलबुट्टा भर्दै गर्दा समय सन्दर्भका सिल्पी प्रशान एलुंग राईको बेजोड सान्दर्भिक आलेख लिपिबध्द भएर आईहालेछ उनकै सिर्जनाको चौतारी प्रेस चौतारी डट कममा ।

उमेरले निक्कै सानो भए पनि प्रशान एलुंग राई भाईको लेखकीय कला प्रयुक्त शिल्प र शैलीको अगाडी त्यहि ढर्राको आलेख लेख्ने हिम्मत गर्नु भनेको मेरो लागि पहाडसंग सिघौरी खेल्नु जस्तो मात्र हो, तथापी यो आक्रान्त मनलाई बरफले चिसो पार्ने दुस्साहस गर्दैछु ।

Padma-Linkha-Magar-USA-Canada-Co-ordinator

गीतकार तथा कवियत्री पदमा लिंखा मगर फोटोः अशोक पन्त । नेपाल फोटोन्यूज डट कम

यस्ता परोपकारी मनकारीहरुको बारेमा केहि शब्द लेख्न र बोल्न सकिएन भने मैले आफ्नै कर्म र मनलाई अन्याय गरेको ठहरिने छ। यस बखत सिर्फ म आफुलाई न्याय गर्न यो बिषयलाई रोज्दैछु अनि लेख्दैछु। गीतकार पदमा बैनीको सिर्जनाबाट जगेडा भएको त्यो र त्यत्रो सात लाख रकम झुम्लाबाङ्गको सामुदायिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराएको खबर समाचार हप्तै भरि सम्प्रेषण भई रह्यो, म सगर्व पढी रहें, सच्चा परोपकारी काममा सिर्जना र मन लगाउने उनलाई मनबाट धन्य भनि रहंदा हामी बाँचेको यहि समाजका थुप्रै ढोंगी, आडम्बरी तथाकथित समाजसेवीहरुको स्वार्थी कुरुप तस्विरहरु मेरो मानसपटलमा धमिलो गरि आईरह्यो जो खादा, माला, मन्च र समाचार बिना बाच्नै सक्दैनन ।

मंच या समारोहमा पहिलो पक्तिको कुर्ची पाउने सम्भावना भएन भने बरु आईरहने कष्ट नै गर्दैनन्l पदमालाई न मन्च चाहिएको छ न माला, खादा, आरक्षित कुर्ची अनि मुख पृष्ठमा समाचार ? अनि मनको नजरले उनिलाई सम्झीरहंदा मेरो मानसपटलमा ति स्वार्थी र अस्थायी स्वरुपका पात्र र आकृतिहरु निरिह र धुमिल बन्दै गए, सबैलाई बिर्सिएर उन्मुक्त मनले भनिरहें…क्या बात पदमा बैनी! यस्तो र यो पो हो त सहि अर्थमा परोपकार अर्थात् समाजसेवा!

 पदमा बैनी यहीं कहीं कतै हाम्रै कर्म क्षेत्र न्युयोर्कमै जीवन र जिजिविषा बाँची रहेकी छिन भन्नेसम्म पनि हामी बेला बखत बिर्सन्छौं अनि “म हुँ” र “म छु” को यषणा उनीले कहिल्यै जाहेर पनि गरिनन् र गर्दीनन्। उनको सिर्जना “नजर” थुप्रै चोटी भित्रि मनबाट सुनेको छु। एक पल्ट हल्का प्रसंशाका केहि हरफहरु लेखें, तुरुन्त प्रत्युत्तरमा उनले आफु सिकारु बाहेक अरु केहि नभएको तर्क लेखिन ।

NAZAR'S FUND HANDOVER PROGRAM 8TH NOV 2014-3-7834

सांगीतिक एल्बम नजरको बिक्रिबाट जम्मा भएको रकम हस्तान्तरण समारोह । फोटो: रिसर्च श्रेष्ठ

टेलिभिजन कार्यक्रम सम्प्रेषण निर्माणको क्रममा साहित्य बिशेषलाई समेट्ने क्रममा “सम्प्रेषणमा कविता” शीर्षकमा तिन भाग निर्माण गरे, अलिनो र  झिनो सम्झना छ उनको गीत या कविताको एक अंश छायांकनको प्रस्ताब पनि गरें, यस बखत पनि सिधै नाई चाँही भनिनन तर आत्मियतापुर्वक दाजु काम छ छुट्टी नै मिल्दैन आदि इत्यादिको बहाना पस्कि रहिन, थुप्रै मान्छेहरुको संगत गरेको छु जो दस काम छाडेर छापा या टेलिभिजन मा मुहार देखाउन तम्तयार हुन्छन। टेलिभिजनमा देखिने लालच पटक्कै राखिनन उनले त्यस दिनबाट लाग्यो यिनी आम “हामी” मानिस भन्दा पृथक छिन। अहिले समयले मात्र होइन उनले कामलेनै सावित गरिन, उनि पृथक  मात्र होइन “दुर्लभ”अनि “बिशेष” पनि छिन ।

सधै भुल भुलैया, फोस्रो रवाफ, चर्चा, स्तुति, प्रसंशा र अतिरंजनामा रमाउने औसत “हामी” आम मानिसले “पदमापथ” को अलिकति मात्र अनुकरण गर्न सके यो एक बारको जुनी सार्थक हुन्थ्यो। कबि मन्जुलले मलाई मन पर्ने एउटा गीतको अन्तरामा भनेका छन् “जीवन भन्नु के हो र बाँच्दा गरिने काम न हो”।

डिसेम्वर ७, २०१४

साभारः

सम्प्रेषण युएसए

www.sampreshanusa.com

Readers Comments (0)